एकदिवसीय मान्यता त पायौं तर के यसपछि हाम्रो सोचाई र पद्दति भने बद्लियो त?

|
एकदिवसीय मान्यता त पायौं तर के यसपछि हाम्रो सोचाई र पद्दति भने बद्लियो त?

नेपालले ऐतिहासिक एक दिवसीय मान्यता पाएको पनि करिब आधा वर्ष वितिसकेछ, यस अन्तरालमा के हामीले हाम्रो सोच परिवर्तन गर्यौं त? हामीले संधै दोष दिने भनेको नै क्रिकेट बोर्ड भएन, क्रिकेट गतिविधि गर्नका लागि क्रिकेटको आधिकारिक संस्था भएन, आदि ईत्यादि नै हो, हैन र? यति मात्र हैन, यो खेलाडीले राम्रो खेलेन, यस खेलाडीले यस्तो खेल्नुपर्थ्यो ईत्यादि। तर के हामीले वान डे मान्यता पश्चात हाम्रो सोचाई परिवर्तन गर्न सकेका छौं? 


स्कुल क्रिकेट:


स्कुलमा हुने गतिविधिले निश्चय पनि देशको भविष्यमा ठुलो असर गर्छ। क्रिकेट मात्र नभई जुनसुकै गतिविधि हेरौं, स्कुल नै त्यो माध्यम हो, जसले कांचो माटोलाई एउटा राम्रो बनौट दिने गर्छ। त्यस्तै क्रिकेटको कुरामा, देशले वान डे मान्यता पाएपछि देशका विद्यालयमा के कति परिवर्तन भएका छन् सोचौं। कति विद्यालयले आफ्नो विद्यार्थीहरुलाई क्रिकेट खेल्न प्रेरणा दिईरहेका छन्? के कति विद्यालयले आफ्नो स्कुले टिमको थालनी गरे? अझै पनि कम नै होलान्, हामी त बस्! हाम्रा विद्यार्थीलाई जिन्दगीको रेसमा कुद्न सिकाईरहेछौं। थ्रि ईडियट्स मुभिमा भनेजस्तै "छिटो दौड, नत्र कोही तिमीलाई कुल्चेर अगाडी पुग्नेछ।" के हामीले कहिल्यै हाम्रा बच्चाहरुलाई खेलकुदले सिकाउने जीवनोपयोगी शिक्षा दिएका छौं? के हामीले हाम्रा बच्चालाई पढाईसंगै खेलेर पनि जीवन जिउन सकिन्छ भनेर प्रेरणा दिएका छौं? त्यो वातावरण वनाउन सकेका छौं? उत्तर हो, छैनौं। हामी सक्छौं त केबल भन्न "थुईक्क, कहिले एशियाडमा स्वर्ण जित्ला नेपालले? वान डे स्टेटस पाएर पनि एशिया कपमा पुग्न यति गाह्रो? थुक्क नेपाली टिम, के खेलेको?"


सोच्न बाध्य हुनुपर्छ, आखिर कहा चुकेछौ त हामी? वान डे प्राप्त गरे पनि कहां चुकिरहेका छौं हामी? 


टाढा जानुपर्दैन काठमान्डौ मै हेरौं, राजधानीमा च्याउ उम्रेसरी प्राईभेट स्कुल छन्। यसरी खुलेका कति स्कुलले, आफ्नो स्कुलको क्रिकेट टिम बनाएका छन्? कतिले क्रिकेट प्रतियोगिता गराएका/खेलाएका छन्? कतिले स्कुलमा क्रिकेट पिच बनाईदिएका छन्? कतिले आफ्नो स्कुलमा क्रिकेट किट किनेर बच्चालाई नेट प्राक्टिस गराईरहेका छन्? कति स्कुलले, विद्यार्थीले क्रिकेट खेल्छु भन्दा, क्रिकेट खेलेको देखेर खुशी भएका छन्? सायद हातकै औंलामा पनि गन्ती गर्न सकिएला। के हामीले त्यो खेल्ने वातावरण, स्कुल-स्कुलमा वनाईदिएका छौं? हामी त केबल भन्न सक्छौं, "छ्या के खेल्छ नेपाल? यती छिटो विकेट पनि झार्ने हो? टिकेर कहिल्यै खेल्न नसक्ने भो। "


बांकी समस्या त छंदै छन्, अब कुरा गरौं राष्ट्रिय टिममा के के भए नेपालले वान डे मान्यता पाए पश्चात?


१. के नेपालले माथिल्लो स्तरको कोच पायो? 


पुबुदु दासानायके, अहिले पनि नेपालले पाएको उत्कृष्ट कोच मध्ये अग्रणी स्थान ओगट्न सफल हुन्छन्। उनको कार्यकाल कसरी अन्त्य हुन पुग्यो सवैमा सर्वविदितै छ। त्यसपछि जगत गुरुको कोचिङमै टिम खेलिरहेको छ। पाएका छौं त केबल केही सिमित प्रतियोगिताका लागि हप्ते कोच। हामी संग न माथिल्लो लेभलका ब्याटिंग कोच, न बलिंग कोच, न फिल्डिंग कोच नै छन्। अर्थात, वान डे मान्यता प्राप्त भए पश्चात पनि हामीले उच्च स्तरीय कोच पाउन सकेकै छैनौं। (जगत गुरुको ससम्मान गर्दै) 


२. कस्तो हुंदैछ वैदेशिक अभ्यास टुर ? 


पहिले जब कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु हुन लाग्थ्यो, विशेष गरी क्रिकेट फ्यानमा एउटा बहस चल्ने गर्थ्यो, "अब फेरी अभ्यास त्यही भारतको गल्ली टिम संग त होला?" वान डे पाएपछि भने केही बदलाव भयो, नेपाली टोलीले श्रीलंका चेक गर्न पायो तर प्रतिस्पर्धाको स्तर अनुसारको राम्रो अभ्यास गर्न भने पाएन। 


३. वान डे मान्यता पछि कति खेल्दै छौं त घरमा वान डे र मल्टी डे प्रतियोगिता? 


PM Cup नामको एकहप्ते झरी टार्ने प्रतियोगिता कहिले आयो र कहिले गयो पत्तै पनि पाउन गाह्रो भयो। हामी संधै घरेलु प्रतियोगितामा टि२० खेलिरहेका छौं तर टुरमा भने वान डे खेल्न जान्छौं। अव यस्तो अवस्थामा टोटल स्कोर पनि उही टि२० जस्तै बनिराछ, यसले सबैजना टाउको समाएर बस्न वाध्य बनाईरहेको छ। नेपाली टिममा लामो ईनिङ, शतकीय पारी खेलेको त विरलै देख्न पाईएको छ। वान डेलाई चाहिने धैर्यता र ईनिंग बिल्ड अप गर्ने खुबी भने टि२० ले दिन सक्दै सक्दैन। खैर एउटा PM कप चैं भएको रहेछ। 


४. कति गर्यौं नयाँ खेलाडीको उत्पादन? जसले अहिले टिममा कमजोर प्रदर्शन गर्ने खेलाडी विस्थापित गर्न सक्षम भए? 


फ्यानको साझा गुनासो हुन्छ आजकल "फलानो खेलाडीको फर्म यस्तो हुंदा पनि, कसरी टिममा परिरहेको छ यार?" हामीले देशमा त्यो स्तरको नयां खेलाडी उत्पादन गर्नै असमर्थ भईरहेको बेला, टिममा ७०% खेलाडी त उही पुरानै अनुहार हुने भए। जिल्ला/प्रदेशमा  प्रतिस्पर्धात्मक कुनै प्रतियोगिता भएकै छैनन्। केहि सिमित टि२० प्रतियोगिताका आधारमा केहि खेलाडी प्रकाशमा आए तर साउने झरीमा मिलिक्क मिल्केजसरी नै हराउन बाध्य भए, अर्थात् पुराना खेलाडी फर्ममा नभएपनि त्यस स्थान ओगट्न सक्ने नयां खेलाडीको उत्पादन नै हुन सकेन। 


५. उच्च स्तरीय क्याम्प कस्तो चल्दैछ?


एशिया कप क्वालिफायर जिते भारत, पाकिस्तान जस्तो उच्च स्तरीय टोलीसंग खेल्ने सुनौलो मौका थियो। त्यस्तो महत्वपुर्ण टुर्नामेन्टका लागि उच्चस्तरिय क्याम्प त टाढाको कुरा, टियुको त्यो हिले मैदानमा कति खेलाडी चिप्लींदै लडे सोध्न भने अझै बांकी नै छ। त्यहीं नेटमा अभ्यास गर्यौं, बस्यौं अनि लागिहाल्यौं श्रीलंका। अर्थात घरेलु तयारी पनि उच्चस्तरीय हुनपाएन।


७. मनोवैज्ञानिक क्लास/मेन्टल स्ट्रेन्थ क्लास/क्न्सन्ट्रेसन क्लास कति पायौं? 


ठुला खेल खेल्नको लागि खेलाडीको मनोविज्ञान पनि बलियो हुनुपर्छ। खेलाडीको स्वभाव, बानी व्यहोरा, कन्सन्ट्रेसन र डेडिकेसन बढाउन माथी उल्लेखित क्लासहरु प्रशिक्षक नै राखेर गरिनुपर्छ। तर यी क्लास नेपाल वान डे मान्यता पाउंदा पनि हुन पाएन जसको नतिजा प्रतियोगिता दौरान प्रस्टै देख्न सकिन्थ्यो।


८. अनि के खेलाडीलाई खेल खेल्न प्रोत्साहन गर्ने, उनीहरुको तलब मिल्यो त? 


निकै सिमित तलब, बढ्ने त त्यस्तै हो, त्यो पनि नपाएको महिनौ भयो भनेर खेलाडीहरु खुद भनिरहेका छन्। खेलाडी आफ्नो दैनिक गुजारा कसरी चलाउनु भनेर सोच्नु कि यति रनरेटले खेल्नुपर्यो भनेर सोच्नु? सायद उनीहरु यही कुरामै सोचमग्न छन्। 


यी सबै पढेपछि हामी सोच्न बाध्य हुन्छौं, के वान डे मान्यता पाए पश्चात नेपाली क्रिकेटमा कायापलट नै भयो त? के हाम्रो सोचाई र पद्दती सबै बदलियो त? लेखेको भरमा वान डे मान्यता पायौं भनेर खुशी मान्ने कि सोचाई र पद्दति पनि बदलाव गर्न सुरु गर्ने? यसै गरी खेलेर टेस्ट खेल्ने सपना कसरी देख्ने? यो प्रश्न केबल क्रिकेटमा लागेका स्टेकहोल्डरहरुलाई मात्र होईन, स्कुल र कलेजका हरेक शिक्षक, प्रिन्सिपलहरुलाई पनि हो। ती सबै क्रिकेट समर्थकलाई पनि हो जो वान डेको खुशी अझै मनाईराख्नु भएको छ। यसरी खेलेर, टेस्टको सपना त परको कुरा, वान डे स्टेटस जोगाउन पनि धौधौ पर्नेछ। एकपटक सोचौं अनि सुरुवात आंफैबाट गरौं। 


Dipesh Pandit

Also renowned as Thejuly23rd in social medias, Dipesh is a computer engineering graduate and a close spectator of Nepali cricket.