नेपालमा अर्को ठूलो फ्रेन्चाइज क्रिकेट लिग हुँदै

|
नेपालमा अर्को ठूलो फ्रेन्चाइज क्रिकेट लिग हुँदै

नेपालमा फ्रेन्चाइज क्रिकेट लिगको बढ्दो लोकप्रियतासँगै अब छिटै नेपालकै सबैभन्दा ठूलो क्रिकेट लिग आयोजना हुने भएको छ । केही दिनभित्रै आधिकारिक घोषणा हुने आयोजकले जनाएको छ ।

युवा तथा नयाँ खेलाडीलाई थप एक्स्पोजर र अवसर प्रदान गर्ने उद्देश्यका साथ शुरु गर्न लागिएको यो लिगको नाम नेपाल क्रिकेट लिग (एनसिएल) राखिएको छ । राइनो स्पोर्ट्स र जय मिडिया म्यानेजमेन्ट प्रा. लि. को संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ ।

राइनो स्पोर्ट्सका संस्थापक तथा सिइओ सुशील पाण्डेका अनुसार यस फ्रेन्चाइज क्रिकेट लिग टि २० र टि १० दुई फर्म्याटमा खेलाइने छ । राउन्ड रोबिन फर्म्याटमा खेलाइने एनसिएलको टि २० लिगमा नेपालका ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहने छ । आयोजकका अनुसार टि१० लिगमा टि २० लिगका ६ टिमसहित थप २ टिमले पनि प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टिमका बारेमा पनि छिट्टै जानकारी दिइने आयोजकले बताए ।

लिगमा सहभागी टिमको विवरण, प्रतियोगिता सञ्चालन मिति, अक्सनको स्वरुप तथा खेलाडी दर्ता प्रक्रिया लगायतका बारेमा चाँडै घोषणा गर्ने आयोजकले जानकारी दिएका छन् ।