डीपीएल ३ को उपाधि सीवाइसी अत्तरियालाई

|
डीपीएल ३ को उपाधि सीवाइसी अत्तरियालाई

प्रतिस्पर्धात्मक खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै सीवाइसी अत्तरियाले डीपीएल ३ को च्याम्पियन बनेको छ । महेन्द्रनगरले पेश गरेको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको हो ।


प्रतियोगिता अवधिभर नै उत्कृष्ट प्रदर्शन गर्दै आएका भारतका सन्नी पटेलले २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रनमा अविजित रहे । जयकिशन कोल्सावालाले ३० रनको योगदान दिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए । महेन्द्रनगरको तर्फबाट मोहम्मद नाभिद तथा अविनाश बोहोराले समान २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको महेन्द्रनगरका ओपनर दीलिप नाथले ४३ रन बनाए । ४१ बल खेलमा उनले ५ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल २५, रोहित पौडेल २४, आरिफ शेख ११ र महोम्मद नाभेद १० रनमा आउट भए ।

फाइनल जित्ने टोलीले ३० लाख र उपविजेताले १२ लाख रुपैयाँ नगद पाएका छन् । तेस्रो र चौथो हुनेले क्रमशः ४ लाख र २ लाख पाएका छन् । यसअघिका दुई संस्करणको उपाधि स्थानीय टोली टिम चौराह धनगढीले उचालेको थियो ।