नेदरल्याण्ड विरुद्ध जितको ५ मुख्य कारण

|
नेदरल्याण्ड विरुद्ध जितको ५ मुख्य कारण

नेपालले नेदरल्याण्डविरुद्धको आफ्नो दोस्रो अन्तर्राष्टिय खेलमा नेपालले १ रनको झीनो अन्तरले जित हात पारेको छ । निकै नै प्रतिस्पर्धातमक खेलमा अन्तिम बलमा कप्तान पारस खड्काले नेदरल्याण्डका ब्याट्सम्यानलाई रनआउट गरेपछि नेपालले खेल आफ्नो पक्षमा पारेको थियो ।

टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियो । धर्मराउँदो नेपालको पारीलाई सम्हाल्ने क्रममा पारस खड्काले ५१ रन बनाएका थिए भने सोमपाल कामीले ४६ बलमा ६१ रनको तुफानी पारी खेलेका थिए । सोमपालले आफ्नो पारीमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।

जवाफी ब्याटिंगमा आएको नेदरल्याण्डले पारीको अन्तिम बलमा अलआउट हुँदा २१५ रन बनाएका थियो । नेदरल्याण्डका लागि वेस्ले बरेसीले सर्वाधिक ७१ रनको पारी खेलेका थिए । नेपालको तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ तथा सोमपाल कामी, पारस खड्का, वसन्त रेग्मी तथा दीपेन्द्र ऐरीले समान एक एक विकेट लिएका थिए ।

नेपालले यो जित हात पार्नुका प्रमुख ५ कारणहरु तल विस्तार गरिएको छ ।

१. सोमपाल कामीको आक्रामक ब्याटिंग
एक समय ८८/५ मा धर्मराइरहेको नेपालको पारीमा प्राण दिने काम गरे सोमपाल कामीले । अर्धशतक बनाएका कप्तान पारस खड्का आउट भएपछि गहिरो समस्यामा परेको नेपाली पारीलाई सोमपालको तुफानी पारीले सम्मानजनक स्कोरतर्फ अघि बढाएको थियो । ६ बलको सामना गरेका सोमपालले ५ चौका तथा ३ छक्काको सहयोगमा ६१ रन बनाएका थिए जसको मद्दतमा नेपाल २१६ रनको योगफल तयार गर्न सफल भएको थियो ।

२. कप्तान पारसको संयमित ब्याटिंग
एउटा इण्डबाट लगातार विकेट भरिरहेको अवस्थामा पारस खड्काले कप्तानी पारी खेल्ने क्रममा संयमित भएर ब्याटिंग गरेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रन, सुवास खकुरेल १९ रन, अनिल कुमार शाह ४ रनमा आउट हुँदा पारस भने एक इण्डमा डटेर ब्याटिंग गरिरहेका थिए । ५१ रनको व्यक्तिगत स्कोरमा आउट भएका पारसले ६९ बलमो सामना गरेका थिए जसमा ६ चौका र २ वटा छक्का सम्मिलित थिए ।

३. पारस खड्काको समझदारीपूर्ण कप्तानी
कप्तान पारस खड्काको उचित समयमा बलर परिवर्तन गर्नु तथा सही फिल्ड प्लेसिङ्ले पनि नेपालको जितमा मुख्य भूमिका खेलेको थियो । खेलमा यस्तो समय पनि आएको थियो जतिबेला नेदरल्याण्डले आफ्नो पकड बनाएको थियो । अन्तिम ओभरमा नेदरल्याण्डलाई ६ रनको आवश्यकता हुँदा कप्तान आफैँ बलिङमा आएर नेपाली टोलीलाई जित दिलाउन सफल भएका थिए । यो जितको श्रेय धेरै हदसम्म कप्तानलाई पनि जान्छ ।

४. स्पिनरले नियमित अन्तरालमा विकेट निकाल्नु
नेपाली स्पिनरहरुले नियमित अन्तरालमा विकेट निकाल्नाले नेपालको जित भएको हो । जतिबेला नेदरल्याण्ड पार्टनरसिप बनाउन थाल्थ्यो, उति नै बेला कुनै स्पिनरले विकेट निकालिदिन्थे । सन्दीप लामिछानेले ३ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले ७१ रन बनाएर खेलिरहेका खतरनाक वेस्ले बरेसीको विकेट निकालेका थिए । त्यसैगरी वसन्त रेग्मीले पनि १ विकेट निकालेका थिए । दिपेन्द्रले दोस्रो पारीको ४९ औँ ओभर गर्ने क्रममा निकै किफायती बलिङ गरेका थिए जसले गर्दा अन्तिम ओभर गर्ने क्रममा पारसले नेदरल्याण्डलाई ४ रन मात्र दिएर नेपाललाई १ रनको जित दिलाएका थिए ।

५. हार नमान्ने नेपाली टोलीको मानसिकता
निकै नै प्रतिस्पर्धात्मक खेलमा नेपाली टोलीले खेलमा पछाडि परेको समयमा पनि हार मानेन । नेदरल्याण्डले खेलमा आफ्नो पकड बनाएर राखेको अवस्थामा पनि नेपाली खेलाडीहरु निरुत्साहित नभइ आफ्नोतर्फबाट नेपाललाई खेलमा फर्काउन निरन्तर प्रयासरत देखिएका थिए । महत्वपूर्ण समयमा सोमपालले आक्रामक पारी खेल्नु, एक इण्डबाट विकेट झरिरहँदा पारस खड्का अर्को इण्डमा ठटिरहनु, नेदरल्याण्डको पारीमा नियमित अन्तरालमा विकेट निकालिहनु यी सबैले नेपाली टोलीको अन्त्यसम्म पनि हार नमान्ने जुझारुपनलाई दर्शारहेका थिए ।