डिपीएलको पहिलो खेलमा काठमाडौँ गोल्डेन्स विजयी

|
डिपीएलको पहिलो खेलमा काठमाडौँ गोल्डेन्स विजयी

See Full Scorecard

धनगढीको फाप्ला क्रिकेट मैदानमा आजबाट शुरु भएको धनगढी प्रिमियर लिग (डिपीएल) को पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ गोल्डेन्सले विजयी शुरुवात गरेको छ ।

पहिलो ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रनको योगफल तयार गरेको थियो । धनगढीका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रनको योगदान दिए । ५० बलको सामना गरेका अमितले ४ चौका र २ छक्का प्रहार गरे । सन्दीप रजालीले २८ रन बनाउँदा सौरभ खनाल २५ रनमा अविजित रहे । काठमाडौँको तर्फबाट नन्दन यादवले ३ ओभरमा ८ रन दिँदै २ विकेट लिन सफल रहे ।

१३३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौँले १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य हासिल गर्न सफल भयो । ओपनर गौरभ तोमारले २४ बलमा ३ चौका तथा २ छक्काको मद्दतमा २८ रन बनाए भने अर्का ओपनर अनिल कुमार शाहले ४० बलमा २४ रन बनाए । अंकित दब्बासले २९ रनको योगदान दिए ।