इपीएल उपाधिका लागि ललितपुर र भैरहवा भिड्दै

|
इपीएल उपाधिका लागि ललितपुर र भैरहवा भिड्दै

- रीतेश घिमिरे

काठमाडौँमा जारी टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनल खेलमा शनिबार ललितपुर प्याट्रियट्स र भैरहवा ग्ल्याडिएटर्सले प्रस्पिर्धा गर्दैछन् ।

निकै नै रोमाञ्चक खेलमा काठमाडौँ किंग्स ११ माथि १ विकेटको जित दर्ता गर्दै ललिपुरले फाइनलमा स्थान बनाएको हो भने भैरहवाले दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स ११ लाई नै ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

यस प्रतियोगिताको पहिलो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएपश्चात् ललितपुरले फेरी हारको मुख देख्नुपरेको छैन । लिग चरणको बाँकी ४ खेलमा जित हात पारी प्लेअफमा स्थान बनाएको ललितपुरले पहिलो प्लेअफमा काठमाडौँलाई पराजित गर्दे फाइनलको यात्रा तय गरेको हो ।

अर्कोतर्फ भैरहवाले ३ जित र २ हारसहित लिग चरणमा तेस्रो स्थान हात पार्दै प्लेअफमा स्थान बनाएको थियो । एलिमिनेटरमा चितवन टाइगर्सलाई पराजित गरेको भैरहवाले दास्रो क्वालिफायरमा काठमाडौँलाई पराजित गरेको थियो ।

जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने क्रममा रवि इन्दर सिंहले ३०८ रन बनाइसकेका छन् । फाइनल खेलमा पनि भैरहवाका लागि रविको ब्याटिंगले महत्वपूर्ण भूमिका खेल्नेछ । अन्तिम खेलमा काठमाडौँ विरुद्ध ३ विकेट लिएका युवा खेलाडी कुशल मल्लले यसखअघि चितवनसंगको एलिमिनेटरमा २७ रनको योगदान दिँदै आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । रविका अलावा मोहम्मद नबिद तथा रायन टेन डेस्काटे पनि ललितपुरका लागि घातक सावित हुन सक्छन् ।

यस प्रतियोगिताका तेस्रो सर्वाधिक रन स्कोरकर्ता गौरव तोमारको साथ पाएको ललितपुरले फाइनल खेलमा पनि तोमारबाट सोही अनुरुपको प्रदर्शन अपेक्षा गर्नेछ । सन्नी पटेल र पवन शर्राफले आफ्नो उत्कृष्ट बलिङ्गलाई निरन्तरता दिन सके भैरहवालाई फाइनल खेल जित्न त्यति सजिलो भने हुने छैन ।

काठमाडौँ किंग्स विरुद्धको पहिलो क्वालिफायरुमा योगन्द्र सिंह कार्कीले अन्तिम ओभरमा जित दिलाउनु तथा सोही खेलमा कुशल भुर्तेलले देखाएको क्षमताले ललितपुरको मिडल तथा लोवर अर्डर पनि बलियो रहेको प्रमाणित गरेको थियो ।

समग्रमा भन्नुपर्दा यो फाइनल खेल यस प्रतियोगिताको दुई बलियो टोलीबीच हुँदैछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले प्रतियोगितामा १ मात्र हार बेहोरे तापनि अन्तिम दुई खेलमा भैरहवाको प्रदर्शन हेर्दा खेल प्रतिस्पर्धात्मक नै हुने अपेक्षा गरिएको छ ।

 

Players to Watch

भैरहवा : रवि इन्दर सिंह, मोहम्मद नबिद, शरद भेषवाकर

ललितपुर : गौरव तोमार, पवन शर्राफ, सन्नी पटेल