नेपाललाई भारत र पाकिस्तानसँग वानडे खेल्ने मौका

|
नेपाललाई भारत र पाकिस्तानसँग वानडे खेल्ने मौका

 
यही भदौमा मलेसियामा आयोजना हुन लागेको एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई तथा ओमानको बीचमा प्रतिस्पर्धा हुने सो छनोट प्रतियोगिताको विजेताले आगामी एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

नेपालको खेल तालिका
२९ अगस्ट : ओमान
३० अगस्ट : युएई
१ सेप्टेम्बर : मलेसिया
२ सेप्टेम्बर : सिंगापुर
४ सेप्टेम्बर : हङकङ

भदौ ३० देखि युएईमा आयोजना हुन लागेको एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका तथा अफगानिस्तानले स्थान सुरक्षित गरिसकेका छन् भने बाँकी एक स्थानमा भने यस छनोट प्रतियोगिताको विजेताले लिनेछ । समूह ए मा भारत, पाकिस्तान तथा छनोट प्रतियोगिताको विजेता हुने छन् भने समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहनेछन् ।

नेपालले यस एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगिता जितेको खण्डमा भारत र पाकिस्तानको समूहमा रहेर एसिया कपमा सहभागिता जनाउनेछ । यसअघिको एसिया कप २०१६ टी२० फम्र्याटमा खेलाइएको थियो जसको विजेता भारत भएको थियो भने सन् २०१४ को एसिया कप श्रीलंकाले उचालेको थियो । यस पटकको एसिया कप एकदिवसीय फम्र्याटमा खेलाइनेछ ।

पहिले भारतमा आयोजना हुने भनिएको एसिया कप, भारत तथा पाकिस्तानबीचको राजनीतिक अस्थिरतालाई मध्यनजर गर्दै युएईमा सरिएको छ । सबै खेलहरु अबुधाबी र दुबईमा खेलाइने भएको छ ।