सर्वाधिक पुरस्कार राशि रहेको डिपीएल विजेताले ३० लाख पाउने

|
सर्वाधिक पुरस्कार राशि रहेको डिपीएल विजेताले ३० लाख पाउने

धनगढीमा यही माघ २६ देखि फागुन ११ सम्म सञ्चालन हुन गइरहेको धनगढी प्रिमियर लिग (डिपीएल) ले आज पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता राशि घोषणा गरेको छ ।

आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले ३० लाख पुरस्कार प्राप्त गर्नेछ भने उप विजेताले १२ लाख हात पार्नेछ । त्यसैगरी तेस्रो हुने टोलीले ४ लाख र चौथो टोलीले २ लाख प्राप्त गर्नेछ ।

यसैगरी गोल्डस्टार मोष्ट भेल्युवल खेलाडीलाई गोल्डस्टार सुनको जुत्ता प्रदान गरिनेछ भने हरेक खेलको म्यान अफ द म्याच ले १५ हजार प्राप्त गर्नेछन् । म्यान अफ द सीरिज तथा प्रतियोगिता को उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । टिकट ईसेवा मार्फत अनलाईन तथा खेल मैदानको टिकट काउन्टरबाट लिन सकिनेछ । टिकटबाट उठेको रकमको २० प्रतिशत रकम फाप्ला अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानको निर्माण का लागि छुटाईने छ भने ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिने बताइएको छ ।

१५ दिन सम्म चल्ने प्रतियोगितामा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड गरी ६ टोलीले सहभागिता जनाउनेछन् ।